नेपालमा नयाँ प्रकारको बक्सर आन्दोलनकाे खतरा

# प्रेम सागर पाैडेल

देशभक्ति, राष्ट्रियता र स्वाधीनताको भावनाले ओतप्रोत देशमा जब यिनै शब्दहरू राजनीतिक हतियार बन्न थाल्छन्, तब त्यो देश केवल भावनात्मक रुपमा हैन, रणनीतिक रूपमै ठूलो संकटतर्फ धकेलिन सक्छ। आजको नेपालमा देखिन थालेको घटनाक्रमले यही कुराको संकेत गरिरहेको छ। विगतका इतिहास हेर्ने हो भने चीनको “बक्सर आन्दोलन” केवल एक आन्दोलन थिएन, त्यो चिनियाँ स्वाभिमान, स्वाधीनता र राष्ट्रिय पुनर्जागरणको प्रतीक थियो। यस्तै आन्दोलनको नाममा यदि नेपालमा कृत्रिम राष्ट्रवाद र “कथित” देशभक्ति उरालेर समाजमा रक्तपात, द्वन्द्व, वा विदेशी स्वार्थपूर्ति हुने किसिमका गतिविधिहरू गरिने संकेत देखिएको छ, यो अत्यन्तै गम्भीर विषय हो।

बक्सर आन्दोलनको मूल सन्देश थियो, विदेशी हस्तक्षेपविरुद्ध आफ्नो भूमिमा आफ्नो शासन। नेपालले पनि विगतमा रणमुकुट लगाएर, गोर्खालीको शौर्य देखाएर विदेशी सत्ताका विरुद्ध आफ्नो सार्वभौमसत्ता बचाएको इतिहास बोकेको राष्ट्र हो। तर आज त्यो शौर्यलाई भावना बनाइ, भावनालाई संगठन बनाइ, र संगठनलाई शक्तिको नाममा प्रयोग गर्दै कतिपय तत्वहरूले “देशभक्त” को आवरणमा नेपालमै अर्को बक्सर आन्दोलन भड्काउने रणनीति बनाउन थालेको आशंका बढ्दो छ।

समस्या कहाँ छ भने देशभक्त बन्ने चाहना प्राकृतिक हो। तर जब त्यो चाहनालाई योजनाबद्ध रूपमा प्रयोग गरिन्छ, जनताको असन्तोषलाई दिशा दिएर एउटा खास लक्ष्यतर्फ मोडिन्छ, तब त्यो देशभक्ति होइन, रणनीतिक प्रयोग हो। आज जेन जेड, अर्थात २०१० पछिको पुस्ता, सामाजिक सञ्जालमा हुर्किएको, डिजिटल साक्षर तर राजनीतिक रूपमा अलिक अलमलिएको पुस्ता हो। यिनलाई आदर्श, देशप्रेम, क्रान्ति, र राष्ट्रवादका शब्दहरूले सजिलै छुन्छ। यही भावनालाई कैयौँ गैरसरकारी संस्था (एनजीओ), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ), वा विदेशी शक्ति केन्द्रहरूले प्रयोग गर्न खोज्नु, हाम्रो राष्ट्रियतामाथि गम्भीर प्रहार हो।

नेपालमा विगत दुई दशकमा एनजीओ/आईएनजिओहरूले शिक्षा, स्वास्थ्य, लैंगिक सशक्तीकरण, समावेशिता आदि क्षेत्रमा उल्लेखनीय काम गरेका छन्। तर त्यही नाममा कतिपय संस्था विदेशी एजेण्डा लागू गर्ने प्रयोगशाला बन्न पुगेका छन्। यी संस्थाहरूको आर्थिक स्रोत, उद्देश्य, र उनीहरूले अघि सारेका कार्यक्रमहरूको दीर्घकालीन प्रभावबारे कुनै सार्वजनिक उत्तरदायित्व देखिँदैन। अझ खतरनाक त यो छ कि यिनकै सहायतामा तयार भएका युवाहरूलाई “क्रान्तिकारी” भनिने भाषिक लेपनमार्फत देशभक्तको मुखुण्डो लगाइ, प्रयोग गर्ने प्रयास भइरहेको देखिन्छ।

यदि आज हामीले युवापुस्तालाई शिक्षाको माध्यमबाट, तर्कको माध्यमबाट, विवेकको माध्यमबाट देशप्रेम सिकाउन सकेनौँ भने, उनीहरू “आन्दोलन” का नाममा प्रयोग हुनेछन्। कुनै एक विशिष्ट गुट वा शक्तिकेन्द्रको हित पूर्तिको निम्ति गरिने यस्तो आन्दोलनले राष्ट्रलाई सशक्त बनाउँदैन, उल्टै विखण्डन र द्वन्द्वतिर लैजान सक्छ। युवाको क्रान्तिकारी उर्जा चाहिन्छ, तर त्यो उर्जा सुसंस्कृत विचार र ज्ञानले निर्देशित हुनुपर्छ।

देशभक्ति भनेको कुनै पार्टीप्रतिको निष्ठा होइन। न त यो कुनै व्यक्तिप्रतिको अन्धभक्तिभाव हो। देशभक्ति त त्यो हो जुन प्रश्न गर्छ, गलतको विरोध गर्छ, सहीको पक्षमा उभिन्छ, र राष्ट्रको दीर्घकालीन हितलाई केन्द्रमा राख्छ। तर आज “राष्ट्रवाद” को नाममा सामाजिक मिडियामा फैलाइने प्रचारहरूले भावनात्मक उन्माद सिर्जना गर्दैछ। यो उन्माद यति बेलामा अत्यन्तै खतरनाक हुन्छ जब त्यो उन्मादलाई हिंसाको मोड दिइन्छ, जुन सम्भावना अहिले देखिएको छ।

यदि बक्सर आन्दोलनको प्रेरणा लिइन्छ भने, त्यसको सही सन्देश लिनुपर्छ आत्मनिर्भरता, सामूहिक चेतना, राष्ट्रिय एकता, र विदेशी हस्तक्षेपविरुद्ध एकताबद्ध प्रतिरोध। तर यसको नाममा आफ्नै समाजमा फूट पार्ने, आफ्नै संस्थाहरूमाथि अविश्वास पैदा गर्ने, र राष्ट्रलाई आन्तरिक रूपमा कमजोर बनाउने कार्यले बक्सर आन्दोलनको आत्मालाई नै हत्या गर्छ।

देशभक्ति र राष्ट्रियताको भावनालाई संस्थागत गर्नको लागि सरकार, शैक्षिक संस्था, र सामाजिक नेतृत्व सबैको जिम्मेवारी हुन्छ। तर जब सत्ता स्वयं कमजोर हुन्छ, नेतृत्व दिशाहीन हुन्छ, तब शक्ति केन्द्रहरू खालि ठाउँ खोज्छन्। अहिलेको जटिल भू-राजनीतिक परिप्रेक्ष्यमा नेपाल भूगोलको हिसाबले मात्र हैन, रणनीतिक हिसाबले पनि महत्वपूर्ण छ। भारत, चीन, अमेरिका, युरोपेली संघजस्ता शक्तिहरूको चासो यही सानो देशभित्र केन्द्रित हुनुको अर्थ के हो? यसको जवाफ स्पष्ट छ, नेपाललाई कसले कतातिर मोड्छ भन्ने कुरामा ती शक्तिहरूबीच प्रतिस्पर्धा छ। यही प्रतिस्पर्धा अहिले “जनता स्वयं उठ्न थाले” भन्ने आवरणमा प्रस्तुत हुँदैछ।

यस्तोमा जनताले विचार गर्न जरुरी छ, के हामी आफैँ सोच्दैछौँ कि कसैले सोचिदिएको विचार बोकेका छौँ? के हाम्रो देशभक्ति साँचो ज्ञानमा आधारित छ कि सतही भावना मात्र हो? के हामी साँचै परिवर्तन चाहन्छौँ कि अरूको डिजाइनमा नाचिरहेका छौँ?

देशभक्त बन्नु गाली गर्नु होइन। न त त्यो हिंसामा उत्रनु हो। त्यो त विवेकपूर्वक राष्ट्रको दीर्घकालीन हितमा सोच्ने बानी हो। त्यो संविधानप्रति निष्ठा हो। त्यो विविधतामा एकता हो। त्यो सार्वभौमसत्ता र राष्ट्रिय अस्मिता जोगाउन सही ढंगले रणनीति बनाउने क्षमता हो। आजको युवापुस्ता यदि यिनै कुराहरूमा सचेत भएर अघि बढ्छ भने त्यसैले साँचो बक्सर आन्दोलनको पुनर्जागरण गर्छ।

तर यदि युवालाई भावना मात्र बाँडेर, उनीहरूको विवेक कमजोर बनाएर, विदेशी एजेण्डाको मोहरा बनाइयो भने त्यसले राष्ट्रलाई स्वतन्त्र राख्दैन, बरु झन परनिर्भर बनाउँछ। अहिले देखिएको “राष्ट्रप्रेमको उन्माद” त्यही दिशातर्फकाे संकेत हो। त्यसैले आजको आवश्यकताको पहिलो सर्त हो, चेतना। चेतनासँगै देशभक्ति, विवेकसँगै क्रान्ति, अनि आत्मसमीक्षा गरेर मात्र सही निर्णयतर्फ अगाडि बढ्ने मार्ग।

राष्ट्र बनाउने कुरा क्रान्तिको नारामा मात्र हुँदैन, त्यो त अनुशासन, आत्मबलिदान, र जिम्मेवार चेतनाबाट सम्भव हुन्छ। बक्सर आन्दोलनको आत्मालाई सम्झँदै नेपालमा आज देशभक्तिको नाममा जुन खेल खेल्न खोजिएको छ, त्यसलाई चिन्न, बुझ्न, र रोक्न सक्नु नै साँचो देशभक्ति हो। राष्ट्र बचाउने हो भने भावना हैन, विवेक आवश्यक छ, त्यो विवेक जाग्नु पर्दछ, आजै।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button