वैश्विक ‘जेन्जी’ आन्दोलन : नयाँ रूपको पुरानो सत्ता–खेल

# लक्की चन्द
विश्व राजनीतिमा नयाँ शब्द ‘जेन्जी आन्दोलन’ (Gen-Z Movement) उदाउँदो देखिन्छ, तर यसको गहिरो पृष्ठभूमि हेर्दा यो कुनै स्वतःस्फूर्त युवा आन्दोलन मात्र होइन, पश्चिमी शक्तिहरूको अदृश्य र रणनीतिक हस्तक्षेपको नवीनतम मोड हो। इतिहासमा पश्चिमी शक्ति समूहहरूले आफ्ना स्वार्थअनुकूल शासन स्थापनाका लागि दुई प्रमुख उपाय अपनाउँथे पहिलो, सैन्य विद्रोह; दोस्रो, नियम र संस्थामार्फत वैधानिक हस्तक्षेप। तर अहिले तेस्रो युग सुरु भएको छ साइबर–आन्दोलन र जेन्जी विद्रोहको युग, जसले “लोकतन्त्र” र “स्वतन्त्रता” का नाममा लक्षित सरकारहरूलाई ढाल्ने काम गर्दैछ।
पेरु यसको ताजा उदाहरण हो। त्यहाँ हालै जेन्जीहरूले “जनआन्दोलन” को आवरणमा सेनाको सहयोग पाएर राष्ट्रपति डिना बोलुआर्टेलाई अपदस्थ गरे र नयाँ राष्ट्रपति स्थापना गराए। विडम्बना के छ भने बोलुआर्टे आफैं तीन वर्षअघि मार्क्सवादी राष्ट्रपति पेड्रो कास्टिलोलाई हटाएर सत्तामा पुगेकी थिइन्, जसको योजनामा पनि पश्चिमी दबाबको गन्ध थियो।
तर पेरुको राजनीतिक वृत्तान्त केवल त्यहाँको आन्तरिक अस्थिरताको कथा होइन; यो ल्यातिन अमेरिकी भू-राजनीतिक पुनःउपनिवेशीकरणको संकेत हो। कास्टिलो र बोलुआर्टे दुवैले सन् २०२१ मा मार्क्सवादी गठबन्धनका रूपमा राष्ट्रपति र उपराष्ट्रपति पद जितेपछि पेरुमा एउटा नयाँ शक्ति सन्तुलन देखा परेको थियो, जसले अमेरिका र उसका सहयोगीहरूको रणनीतिक हितमा ठेस पुर्यायो। पेरुले चीनसँगको व्यापारिक सम्बन्ध विस्तार, BRICS–मैत्री नीति र स्थानीय संसाधनमाथि राष्ट्रिय नियन्त्रणको नीति अघि सारेपछि पश्चिमी विश्वका लागि त्यो अस्वीकार्य बन्यो। त्यसपछि सुरु भयो “सडक आन्दोलन” र “युवा विद्रोह” का नाममा योजनाबद्ध अस्थिरता सिर्जना गर्ने अभियान।
आज पेरु मात्र होइन, यस्ता ‘जेन्जी आन्दोलनहरू’ चिली, इक्वेडर, कोलम्बिया, श्रीलंका, हङकङ, बेलारुस, नेपाल देखि म्यानमारसम्म उस्तै ढाँचामा देखा परेका छन्। यी सबै आन्दोलनहरूमा केही साझा तत्वहरू पाइन्छन्। सोशल मिडियामा तीव्र मनोवैज्ञानिक अभियान, विदेशी एनजीओ र फाउन्डेसनको आर्थिक संलग्नता, डिजिटल नेटवर्कमार्फत युवा जनमत नियन्त्रण, र सैन्य वा सुरक्षा संयन्त्रको विभाजन। यो सब ‘जनशक्ति’ होइन, ‘डिजिटल रणनीति’ हो। जसको केन्द्रमा पश्चिमी खुफिया संयन्त्र र बहुराष्ट्रिय सञ्चार गृहहरू सक्रिय छन्।
पेरुको घटनाले देखाउँछ कि अहिले सत्तापरिवर्तनको नयाँ नारा “युवा क्रान्ति” बनेको छ। विगतमा जसरी सेनाले बन्दूक प्रयोग गर्थ्यो, आज ‘जेन्जी आन्दोलन’ ले मोबाइल र मिडियालाई हतियार बनाएको छ। परिणाम एउटै, जो पश्चिमी आदेशमा चल्दैन, ऊ जनताको नाममा हटाइन्छ।
यो प्रवृत्ति केवल ल्यातिन अमेरिकाको कथा होइन; यो दक्षिण एशिया, अफ्रिका र युरोपसम्म फैलिरहेको वैश्विक प्रयोगशाला हो। नेपालजस्ता मुलुकमा पनि यसको छायाँ देखिएको छ। यहाँ पनि अहँकारी र सानो वृत्तमा रमाउने केपी ओलीलाई जेन्जी (Zen Z काे बलमा फालेर सुशीला कार्कीकाे नेतृत्वमा आफ्नाे पपेट सरकार गठन गर्दैछ। ‘लोकतान्त्रिक आन्दोलन’ का नाममा विदेशी रणनीतिक सोच भित्र्याउने प्रयास तीव्र हुँदैछ।
त्यसैले आजको मूल प्रश्न यो हो के हामीले प्रत्येक सडक आन्दोलन, प्रत्येक डिजिटल विद्रोहलाई स्वतन्त्र जनअभिव्यक्ति ठान्ने कि परनिर्भर भू–राजनीतिक खेलको हिस्सा ठान्ने?
पेरुको उदाहरणले सिकाउँछ, हातमा झण्डा र मोबाइल बोकेका युवा अनिवार्य रूपमा स्वतन्त्र नहुन सक्छन्। उनीहरू कुनै अदृश्य शक्ति–केन्द्रका ‘डिजिटल सैनिक’ हुन सक्छन्।
विश्व राजनीति फेरि पनि त्यसै बिन्दुमा फर्किएको छ, जहाँ सत्ताको मालिक जनता होइन, रणनीतिक स्वार्थ हुन्। उहिले सेनाले विद्रोह गर्थ्यो, आज जेन्जीहरू त्यसको नयाँ संस्करण बनेका छन्।
त्यसैले, २१औँ शताब्दीको यो “डिजिटल विद्रोह” को युगमा राष्ट्रहरूलाई आवश्यक छ, डिजिटल चेतना, राष्ट्रिय आत्मसम्मान र भू–राजनीतिक सतर्कता, अन्यथा ‘लोकतन्त्र’ र ‘स्वतन्त्रता’का नारा फेरि पनि पुराना साम्राज्यवादी हस्तक्षेपका नयाँ रूपमा परिणत हुनेछन्।





