राष्ट्र विहीनता तर्फ नेपाली यात्रा?

# मुना चन्द
नेपाली जनताको भाग्य बनाउने जिम्मा पाएका नेताहरू नै जब राष्ट्रको लुटको योजनाकार बन्छन्, तब देशको अस्तित्व केवल नक्सामा सीमित हुन्छ। आज नेपाली जनता यही पीडादायी अनुभूति बोकिरहेका छन् राष्ट्रियता खोक्रो बन्दै गएको, नेतृत्व स्वार्थी बन्दै गएको, र जनताको आशा मरेर कुन्ठामा परिणत भएको।
इतिहासले प्रमाणित गर्छ, देशभित्रै रहेर पनि कति जातिहरू र समुदायहरू देशबिहीन बन्छन्। यहूदीहरूको इतिहास त्यसको कालो दर्पण हो। हजारौं वर्षसम्म पृथ्वीमा उनीहरूको भाषा, संस्कृति, ज्ञान, धर्म थियो, तर त्यो सबैको केन्द्र बन्ने भौगोलिक “देश” थिएन। उनीहरू बिच्किएका, भगाइएका, सताइएका, र अस्तित्वको लडाइँ लड्दै हिँडे। किन? किनभने त्यो समयको विश्व राजनीतिको स्वार्थ, विभाजन र सत्ता–लोलुप नेतृत्वले उनीहरूको अस्तित्वलाई धूलो बनायो।
आज नेपालमा पनि त्यो खतरा विस्तारै घना हुँदै गएको छ। नेताहरू जनताको प्रतिनिधि होइन, विदेशी शक्ति केन्द्रका एजेन्ट बन्दै गएका छन्। पार्टीभित्र कुर्सीको राजनीति, पार्टीबाहिर विदेशी दबाब, र राष्ट्रिय स्वार्थमाथि व्यक्तिगत स्वार्थको खेल। यो क्रम यति गहिरो भइसकेको छ कि आज देशको नीति निर्माणको केन्द्र “सिंहदरबार” हैन, विदेशी दूतावास बनेका छन्।
देशभक्ति केवल झन्डा फर्फराउने या मञ्चमा नारा लगाउने कुरा होइन। यो त राष्ट्रको माटोमा, नागरिकको स्वाभिमानमा, र नेतृत्वको निष्ठामा निर्भर गर्छ। तर यहाँ त नेतृत्व स्वयं निष्ठाहीन, स्वार्थी र दिशाहीन देखिन थालेको छ। आज एकातिर विदेशी शक्तिहरू नेपाललाई रणनीतिक अखाडा बनाउने प्रतिस्पर्धामा छन् भने अर्कातिर, त्यही प्रतिस्पर्धाबाट व्यक्तिगत लाभ लिने नेताहरू छन्। यस्तो नेतृत्वका बीचमा आम नेपाली जनता केवल ‘स्रोत’ बनेका छन्, मतको स्रोत, करको स्रोत, भीडको स्रोत।
यो स्थिति दीर्घकालीन रूपमा रह्यो भने हामीसँग पनि देश त हुनेछ नक्सामा, गीतमा, किताबमा। तर त्यो देश जनताको नियन्त्रणमा रहने छैन। त्यो देश नीतिहरूमा विदेशीको नियन्त्रणमा, निर्णयहरूमा डलरको प्रभावमा, र भावनामा खोक्रो राष्ट्रवादमा सीमित हुनेछ। त्यो अवस्था भनेको देश बिहीनताको आधुनिक रूप हो। जहाँ देश हुन्छ, तर जनताले आफ्नै निर्णय गर्न सक्दैनन्।
नेताहरूको अहिलेको यही चरित्र रह्यो भने, हामी पनि यहूदीहरू जस्तै देशबिहीनताको अवस्थामा पुग्नेछाै। हाम्रो भूमिकाले यस्तै यात्रा सुरु गरिरहेका छौँ भन्ने देखाएको छ। भौगोलिक सिमाना कायम रहला, तर स्वाभिमान, सार्वभौमसत्ता र निर्णय क्षमता गुम्दै जानेछ।
तर, के यो अवस्थाबाट पलायन मात्र सम्भव छ? होइन। इतिहासले फेरि पनि देखाएको छ कि जनताले चाह्यो भने मुलुक बदलिन्छ, व्यवस्था फेर्छ, नेतृत्व उचाल्छ वा ढाल्छ। त्यसका लागि चाहिन्छ चेतना, जागरण र संगठन। तर त्यो संगठन विदेशी डिजाइन अनुसार होइन, जनताको हित अनुसार हुनुपर्छ।
आजको देशभक्ति भनेको नेताको भाषणमा विश्वास गर्नु होइन; आजको देशभक्ति भनेको देशको लागि प्रश्न उठाउनु हो, जवाफ खोज्नु हो, र गलत नेतृत्वविरुद्ध शान्तिपूर्ण तर शक्तिशाली प्रतिरोध गर्नु हो। देशभक्ति भनेको निर्वाचनमा सही व्यक्तिलाई मत दिनु हो, कर तिर्दा प्रश्न गर्नु हो, र विदेशी प्रभाव विरुद्ध निर्भीक उभिनु हो।
हामीले बुझ्नुपर्छ, देश केवल भूगोल होइन, यो चेतनाको नाम हो। यदि चेतना मरे, त आत्मा मर्छ, अनि राष्ट्र पनि। देशबिहीनता भन्नाले केवल भूमिहीन हुनु होइन, त्यो त आत्माविहीन, अस्तित्वविहीन र निर्णयविहीन अवस्थामा पुग्नु हो।
यही कारण हो, आज यो भावनालाई केवल गुनासोमा सीमित राखेर हुन्न, यसलाई चेतनामा रूपान्तरण गर्नुपर्छ। हरेक नागरिकले आफूभित्रको देशभक्त बालक/बालिकालाई जगाउनु पर्छ, जसले सोध्न सक्छ: मेरो देशको निर्णय कसले गरिरहेको छ? मेरा नेताहरू किन बिक्रि भइरहेका छन्? मेरो भविष्यको मालिक म हो कि कसैको कठपुतली? यदि यी प्रश्नहरू प्रत्येक नेपालीले सोध्न थाल्यो भने, देशबिहीनताको आशंका एक राष्ट्रनिर्माणको यात्रामा रूपान्तरण हुनेछ।
नेता बदलिन्छन्, तर राष्ट्र निरन्तर बन्नुपर्छ। तर राष्ट्र निर्माण केवल टेलिभिजनको बहस, मिडियाको सामाग्री र नारामा हैन, यो त जन–जागरण, नैतिक नेतृत्व र नयाँ चेतनाको प्रतिफल हो। यहूदीहरूले हजारौं वर्षपछि आफ्नो देश पुनः बनाए। हामीसँग अझै समय छ आफ्नो देश बचाउन, सजिलो छैन, तर असम्भव पनि होइन।
अन्ततः, यदि हामीले समयमै चेतना जगाएनाै भने, हामीसँग इतिहास हुनेछ, तर भूगोल हराउनेछ। हामीसँग गीत हुनेछ, तर देशको आवाज हराउनेछ। अनि त्यो दिन, हामी पनि केवल “थियौँ” भनेर चिनिनेछौँ, जसरी कतिपय सभ्यताहरू चिनिन्छन्, तर बाँच्छैनन्।
त्यसैले, देशभक्त बन्ने हो भने आजै उठौँ, तर केवल भावना लिएर होइन, विवेक लिएर। किनभने यही विवेक नै राष्ट्रको अन्तिम सुरक्षा कवच हो।





