नेपाली पत्रकारिताको नैतिक दिवालियापन र राष्ट्रघाती भूमिका

# पासाङ ल्हामु
नेपालको राजनीतिक इतिहासमा आगोले खेलेको भूमिका ठूलो रहेको छ। जनआन्दोलनको प्रेरणा बनेको आगो हो, अराजकताको प्रतीक बनेको पनि आगाे हो। तर आज नेपालमा जे लागिरहेको छ, त्यो राष्ट्रनिर्माणको आगो होइन, राष्ट्रघातको आगो हो। र यस आगोमा घिउ थप्ने काम केही “चर्चित” मिडियाकर्मीहरूले नै गरिहेका छन्। उनीहरूको माइक र क्यामेराबाट निस्किएका शब्दहरू नै आज देशलाई जलाउने मशाल बनेका छन्।
टिकाराम यात्री, भूषण दाहाल, जीवराम भण्डारी, जगदीश खरेल, राजेन्द्र बानियाँ जस्ता मिडियाकर्मीहरूले दुर्गा प्रसाईजस्ता विवादास्पद व्यक्तित्वलाई राष्ट्रिय टेलिभिजनहरूमा मञ्च दिए। समस्या त्यहाँ छैन जहाँ उनीहरूले अन्तर्वार्ता लिए, समस्याले त्याे हो जहाँ “काट्छु, मार्छु, आगो लगाउँछु, लखेट्छु, खेदाउँछु” जस्ता हिंसात्मक, उन्मादी र अराजकतालाई आमन्त्रण गर्ने शब्दहरूलाई कुनै सेन्सरशिप, कुनै संयम, कुनै सामाजिक दायित्वबोध बिना नै प्रसारण गरियो। यो पत्रकारिता होइन, यो मनोरञ्जनको नाममा हुने मानसिक अपराध हो। चर्चित रियालिटी र कमेडी शोहरूमा पनि यस्तै अराजक अतिथिहरूको न्यारेटिभले ठूलो स्थान पाएको छ, जसले गर्दा युवापुस्ताको मानसिकतामा हिंसा र अराजकताको बीउ रोपिँदैछ।

अर्जुन ज्ञवालीको उदाहरणलाई हेरौं। उनले आफूलाई अनुहार मन नपर्ने व्यक्तिहरूलाई सिआईए, रअ र शिवसेनाको एजेण्टको आरोप लगाउने, अत्यन्तै तल्लोस्तरका शब्द प्रयोग गर्ने गर्छन्। उनी स्वयं नै कुनै समय माेहन विक्रम सिंह मार्फत इण्डियाकाे दलाली गर्थे, पछि केशरजंग रायमाझीकाे छाेरा दीलिप रायमाझी मार्फत उनको सम्पर्क नेपाली सेना र अमेरिकाकाे एउटा ग्रुपसँग हुन पुगेको आराेप छ। उनलेे लामो समय काठमाडौंकाे बागबजारकाे एक चिया पसललाई आफ्नाे अड्डा नै बनाएका थिए। भनिन्छ कि उनलेे दिनभर चिया पसलमा बसेर सूचना संकलन गर्थे र बेलुकी बेलुकी हेडक्वार्टरमा रिपोर्ट बुझाउथे। यसैगरी, शुरुदेखि नै उनी चीन विरोधी खेमामा रहेर अमेरिकी एउटा समूहबाट परिचालित भए। श्राेतका अनुसार उनलेे नेपालमा अमेरिकी स्वार्थ अनुसार चीनको छवि धमिलो पार्ने र चीनका विरुद्धमा जनमत सिर्जना गर्ने उद्देश्य र योजनाबाट काम गरिरहेका छन्। केही समयअघि उनलेे पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई बडाे राष्ट्रवादी भएको बताउँदै उनलाई र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई समर्थन गरेर ओलीका विरुद्धमा प्रचार अभियान नै चलाएका थिए। उनले आफुलाई मन नपर्ने र मिशनकाे निर्देशन अनुसार बदनाम गर्नुपर्ने छभने सेनाको मान्छे, रअकाे मान्छे, सिआईएकाे मान्छे र शिवसेनाकाे मान्छे भनेर आराेप लगाउने गर्छन्। नेपालकाे आन्तरिक विषयमा चीनलाई जाेड्नुकाे अरु के कारण छ? के नेपालका राजनीतिक दल र तिनका नेताले गर्ने काममा चीनको के दाेष छ? नेपालकाे आन्तरिक कारण र उसको कमजोरीबाट राजसंस्था विस्थापित भयो। यसमा चीनको के दाेष छ? के नेपाल चीनको उपनिवेश हो? हरेकजसाे भिडियो श्रृङखलामा उनलेे चीन र चीनसँग सम्बन्धित ब्यक्तिहरुलाई कुनै न कुनै बहाना बनाएर जाेड्ने गरेका छन्। उनलेे देशको अराजकता, पश्चिमा नियन्त्रणकाे सरकारकाे भरपुर फाइदा उठाउँदै यस्तो आपराधिक कार्य गरिरहेका छन्। यदि देशमा स्वतन्त्र निष्पक्ष र देशभक्तकाे सरकार हुन्थ्यो भने यसप्रकारका आपराधिक मानसिकताका ब्यक्तिहरु जेलमा हुने थिए। देशमा चीन विरोधी र स्वतन्त्र तिब्बत पक्षधर सरकार छ र अमेरिकी समर्थनकाे सेनाको एउटा समूहको समर्थन भएकोले उनलेे खुलेआम माफिया डन शैलीमा आफ्नाे नग्न अवतार देखाइरहेका छन्। यस्तो विषवमनले समाजमा किनाराविहीनताको संस्कृतिको सृजना गर्छ। यहीँबाट नै आजको “विद्रोही जेनेरेसन” को मानसिकता तयार भएको हो, जसले आफूभन्दा भिन्न विचारधारा राख्ने व्यक्तिलाई शत्रु ठान्छ, वादविवादलाई हिंसाले प्रतिस्थापन गर्छ।
दिलभूषण पाठकले हिल्टन होटलमा आर्जु देउवाका छोरा जयवीरको लगानी छ भनेर प्रसारण गरे। हिल्टन होटल जल्यो। भाटभटेनीमा प्रचण्डको लगानी छ भन्ने खबर पनि राष्ट्रिय मिडियाले नै फैलाए। भाटभटेनी पनि जल्यो। यी लगानीहरूको आजसम्म पुष्टि भएको छैन। अहिले सम्म, यी दावीहरूको कुनै पुष्टि भएको छैन। भर्खरै एक पूर्व प्रहरी अधिकृतले प्रचण्डको निवासबाट दुई ट्रक पैसा लगिएको कुरा बिना प्रमाण बाहिर ल्याए, जसलाई टिकाराम यात्रीले मज्जासँग सुनिदिए। यसको स्पष्ट अर्थ छ: यी व्यक्तिहरू अझै पनि देशमा आगो लागीरहोस् भन्न चाहन्छन्। उनीहरूको लागि, देशको अस्थिरता नै उनीहरूको TRP हो।
देशमा अरबौंको क्षति पुगिसकेपछि पनि यिनीहरूको अतिरञ्जना रोकिएन र राेकिने लक्षण देखिदैन। उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लुसिफरसँग तुलना गरिदिए। यसको अर्थ स्पष्ट छ: उनीहरू चाहन्छन् बालेनको घर पनि जलोस। यो कुन प्रकारको पत्रकारिता हो? यो घृणाको पत्रकारिता हो, सत्य र जिज्ञासाको होइन।
युवा पुस्तालाई सामाजिक संजाल मार्फत भड्काउने, देशका लागि आफ्नाे जीवन समर्पण गरेकाहरुलाई अमेरिकी एजेन्ट वा भारतीय एजेन्ट भन्ने निराधार आरोप लगाइरहेका छन्। तर एक कठोर सत्य यो हो कि देशलाई खरानी बनाउने काम कुनै विदेशी एजेन्टले होइन, यहीँका “राष्ट्रिय” मिडियाकर्मीहरू र अर्जुन ज्ञवाली जस्ताले नै गरेका छन्। हो, नेताहरू भ्रष्ट थिए र छन्, तर विदेशी शक्ति सन्तुलनको दृष्टिले हेर्दा नेपाल आजको स्थिति जस्तो दयनीय इतिहासमा कहिल्यै थिएन। समस्याका खाडलहरू पनि थिए, तर यति ठूलो सामाजिक-राजनीतिक भड्खाल कहिल्यै थिएन।
विश्वभरि हेर्दा, कमजोर राष्ट्रहरूमा मिडियाले राष्ट्रनिर्माण (Nation-Building) को भूमिका खेल्नुपर्ने हुन्छ। जर्मनी, जापान जस्ता राष्ट्रहरूले युद्धपछि आफूलाई पुनर्निर्माण गर्न मिडियाको शक्तिलाई राष्ट्रिय एकताको लागि प्रयोग गरे। तर नेपालमा, केही मिडियाकर्मीहरूले “स्वतन्त्र पत्रकारिता” को आडमा राष्ट्रघातको पत्रकारिता गरिरहेका छन्। उनीहरूले समाजलाई विखण्डनको बाटोमा लगेका छन्। यो केवल नेपालको लागि नभएर सम्पूर्ण विकासशील विश्वको लागि चेतावनी हो।
आज आवश्यकता भनेको देशभक्तिको नयाँ परिभाषा लेख्ने हो। देशभक्ति भनेको हरेक सरकारको भूलमाथि आगो लगाउनु होइन, तर राष्ट्रको संस्थाहरूमा विश्वास कायम गर्नु हो। यो भनेको हरेक विपक्षीलाई देशद्रोही भन्नु होइन, तर रचनात्मक आलोचना गर्नु हो। जसरी द्वन्द्वपछिको समयमा सत्य र समाधानको खोजी आवश्यक थियो, आज पनि त्यस्तै आवश्यक छ।
नेपाली मिडियाले आफ्नो शक्ति र प्रभावको पुनर्मूल्याङ्कन गर्नुपर्छ। TRP को दासत्वले गर्दा राष्ट्रिय एकताको मुल्य चुकाउनु हुँदैन। यो समय सचेत हुने, जिम्मेवार हुने र नेपालको भविष्यलाई अँध्यारोबाट बचाउने हो। किनकि अहिले सम्झौताको समय हो, आगो लगाउने होइन। निर्माणको समय हो, विध्वंसको होइन। र यो निर्माणको काम, सबैभन्दा पहिले, नेपाली मिडियाको नैतिक चेतनाबाट सुरु हुनुपर्छ।





