देशभक्तिको मर्ममा आघात र नेपालभित्रको विदेशी चलखेल

# लक्की चन्द

भदौ २२ र २३ गते काठमाडौंका सडकमा देखिएको जेन जेड आन्दोलन सतही रूपमा हेर्दा युवा पुस्ताको न्याय र शुसासनको आवाज थियो। भ्रष्टाचारविरुद्ध र उत्तरदायी शासनका लागि युवाहरूले उठाएको आवाज नेपालजस्ता देशका लागि एक राष्ट्रिय आवश्यकता पनि हो। तर त्यस आन्दोलनको स्वरूप र परिणति जसरी हिंसात्मक मोडतर्फ गयो, त्यसले एउटा गम्भीर प्रश्न खडा गर्‍यो के यो वास्तवमै नेपाली युवाको स्वतःस्फूर्त विद्रोह थियो, कि नेपालभित्र बाह्य शक्तिहरूले योजनाबद्ध रूपमा मुनाफा उठाउने प्रयास?

त्यो दिनको दृश्यमा जनआक्रोश र व्यवस्थाको प्रति असन्तुष्टि मात्र थिएन, तर त्यसभित्र मिसिएको थियो प्रशिक्षित तोडफोड समूह, आगजनी, र अराजकतालाई राष्ट्रव्यापी संकटमा रूपान्तरण गर्ने कुशल हात। प्रहरीले आफ्नो बयानमा रबरको गोली र अश्रुग्यास प्रयोग गरिएको भन्यो, तर प्रत्यक्षदर्शी र चिकित्सकीय रिपोर्टहरूले सेनाले प्रयोग गर्ने राइफलका गोलीले धेरै युवा घटनास्थलमै लडेको पुष्टि गर्‍यो। अस्पतालहरू युवाहरूले भरिएका थिए; २०० भन्दा बढी घाइते र केही युवाहरूको मृत्युले सम्पूर्ण राष्ट्रलाई स्तब्ध बनायो।

यस्तो परिस्थितिमा अन्तर्राष्ट्रिय मिडियाको ध्यान नेपालतर्फ तानिनु स्वाभाविक थियो। The New York Times का विशेष संवाददाता Hammak Bek र सजक प्रधानले १२ अक्टोबर २०२४ मा प्रकाशित रिपोर्टमा जुन कुरा उल्लेख गरे, त्यसले यो आन्दोलनको सतहभन्दा गहिरो तह उजागर गर्‍यो। रिपोर्टको शीर्षक नै सबैभन्दा प्रस्ट सन्देश बोकेको थियो — “Arson in Nepal looked like Spontaneous Rage: Evidence suggests otherwise.” अर्थात, नेपालमा भएको आगजनी भावनाको झोकमा भएकोजस्तो देखिए पनि प्रमाणहरूले फरक कथा सुनाउँछन्।

रिपोर्टले खुलासा गरेको थियो कि आगजनी र लुटपाट कुनै आकस्मिक घटना थिएनन्; ती त महिनौँ अघिदेखि तयारी सहित गरिएका योजनाबद्ध गतिविधिहरू थिए। यसमा सहभागी केही समूहहरू आतंककारी प्रकृतिका थिए, जसले राइफल र अन्य हातहतियार समेत प्रयोग गरेका थिए। अझ चिन्ताजनक कुरा ती समूहलाई ठूलो रकम उपलब्ध गराइएको थियो, जसको स्रोत स्पष्ट छैन। यो बिन्दुले आन्दोलनलाई स्वतःस्फूर्त असन्तुष्टि भन्दा बढी, संगठित षड्यन्त्रको रूपमा प्रस्तुत गर्छ।

कान्तिपुर लगायतका स्थानीय मिडियाले पनि “हुलदंगामा अपरिचित मान्छेहरू” देखिएको उल्लेख गरेका थिए। ती अपरिचितहरू नै पछि आगजनी र तोडफोडका नायक बने। ती समूहका सदस्यहरूको गतिविधि, सम्पर्क सञ्जाल र लगानीका स्रोतहरू अध्ययन गर्दा प्रस्ट हुन्छ यो आन्दोलनका आवरण भित्र राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने, नेपाली युवाको ऊर्जा र असन्तुष्टिलाई दुरुपयोग गर्ने नियोजित प्रयास लुकेको थियो।

नेपालजस्तो संवेदनशील भू–राजनीतिक अवस्थाको देशमा यस्ता घटनाहरू सामान्य मान्न सकिँदैनन्। देशभित्र अस्थिरता फैलाउने, शासन प्रणालीप्रति जनअविश्वास बढाउने, र राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने रणनीति विदेशी शक्तिहरूले पटक–पटक अपनाएका छन्। युवा शक्ति हरेक राष्ट्रको मेरुदण्ड हो। तर जब ती युवालाई बाह्य शक्तिहरूले आर्थिक प्रलोभन, वैचारिक भ्रम, वा भावनात्मक उत्तेजनाबाट नियन्त्रण गर्न खोज्छन्, त्यतिबेला त्यो शक्ति राष्ट्रिय विकासको आधार होइन, राष्ट्रिय विघटनको औजार बन्न सक्छ।

जेन जेड आन्दोलनको प्रारम्भिक स्वरुपमा एउटा गहिरो देशभक्तिको भावना अवश्य थियो। युवाहरूले भ्रष्टाचार, बेथिति र सत्ता–सिण्डिकेटको विरोध गरेका थिए, जुन हरेक जिम्मेवार नागरिकको कर्तव्य हो। तर जुन क्षण ती आन्दोलनहरूमा विदेशी स्वार्थका एजेन्टहरू प्रवेश गर्छन्, त्यस क्षण त्यो आन्दोलनको आत्मा मर्छ। र यहीँ नेपालले भोगेको त्रासदी हो, देशभक्त युवाहरूको आन्दोलन विदेशी योजनाको आवरण बनेर हिंसामा परिणत भयो।

नेपालले विगतमा पनि यस्तै खेलहरू देखिसकेको छ २०६२/६३ को आन्दोलनदेखि लिएर पछिल्ला वर्षमा भएका “लोकप्रिय” प्रदर्शनहरू सम्म, प्रत्येक आन्दोलनका बीचमा कुनै न कुनै बाह्य सञ्जाल सक्रिय रहँदै आएको प्रमाण इतिहासले देखाउँछ। कहिले विदेशी एनजिओहरूको नाममा, कहिले लोकतन्त्रको आवरणमा, कहिले मानवअधिकारको नारा बोकेर। तर अन्ततः लक्ष्य एउटै हुन्छ नेपाललाई अस्थिर पार्ने, रणनीतिक निर्णयहरूमा विदेशी प्रभाव बलियो बनाउने, र चीनसँगको सम्बन्ध कमजोर पार्ने।

यस्तो अवस्थामा नेपालका युवाहरूले सजग हुन आवश्यक छ। शुसासन र पारदर्शिता माग्नु अपराध होइन; त्यो त लोकतन्त्रको आत्मा हो। तर त्यो माग विदेशी चासोको साधन बन्नु भने राष्ट्रघात हो। The New York Times को रिपोर्टले जसरी संकेत गरेको छ, आन्दोलनभित्रका “अपरिचित शक्ति” हरूले युवा पुस्तालाई आफ्नो एजेन्टको रूपमा प्रयोग गरेका थिए। नेपालका सुरक्षा निकाय, अनुसन्धान संस्था र राजनीतिक दलहरूले यो तथ्यलाई गम्भीर रूपमा लिन जरुरी छ।

आज विश्व शक्तिहरूको प्रतिस्पर्धा नेपालजस्ता साना राष्ट्रहरूमा आ–आफ्नो प्रभाव विस्तार गर्ने उद्देश्यले चलिरहेको छ। चीनको उन्नति र बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) लाई रोक्न केही देशहरूले नेपाललाई “सामरिक अस्थिरता” को केन्द्र बनाउने रणनीति अपनाएका छन्। त्यसैले हरेक आन्दोलन, हरेक असन्तुष्टि र हरेक विद्रोहको पछाडि के छ भन्ने बुझ्न अब हामीले गहिरो विश्लेषण गर्नैपर्छ।

देशभक्त दृष्टिले हेर्दा जेन जेड आन्दोलन नेपाली युवाको राष्ट्रिय चेतनाको संकेत थियो, तर त्यो चेतनालाई भड्काउने, दिशा बिगार्ने र हिंसात्मक मोडमा पुर्‍याउने हात विदेशी स्वार्थका थिए। यो सत्य बुझ्न ढिलो गरियो भने नेपाल आफ्नो सन्तानकै हातबाट अस्थिरता र विनाशतर्फ धकेलिन सक्छ।

नेपाललाई अहिले आवश्यक छ जागरूक युवा, जिम्मेवार मिडिया र देशप्रेमी नेतृत्व। बाह्य शक्तिका निर्देशनमा होइन, आफ्नै विवेक, आफ्नै पहिचान र आफ्नै स्वाभिमानमा आधारित आन्दोलनहरूको आवश्यकता छ। देशभक्त आन्दोलन भनेको न त विध्वंस हो, न आगजनी; त्यो त आत्मसम्मान र राष्ट्रिय पुनर्जागरणको यात्राको नाम हो।

जेन जेड आन्दोलनले हामीलाई एउटा गहिरो सन्देश दिएको छ भावनाले होइन, विवेकले आन्दोलन गर्नुपर्छ; क्रान्तिले होइन, चेतनाले देश बदलिन्छ। आजको युवा पुस्ता यदि सही दिशामा अग्रसर भयो भने, उनीहरूले मात्र नयाँ नेपाल निर्माण गर्न सक्छन्। तर यदि उनीहरू फेरि विदेशी योजनाको औजार बने भने, त्यो दिन हाम्रो स्वाधीनताको अन्त्य हुनेछ।

नेपालको सडकमा बगेको रगत देशभक्त युवाको हो, तर त्यो रगतको मूल्य साँचो परिवर्तनमा परिणत गर्न अब जिम्मेवारी हामी सबैको हो, जसले नेपाललाई फेरि विदेशी खेलको प्रयोगशाला होइन, आत्मनिर्भर, स्वाभिमानी र गौरवशाली राष्ट्रको रूपमा उभ्याउनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button