नेपालको राष्ट्रियताको रक्षा दलहरुमा निहित

# देव प्रसाद गुरुङ

भदौ २३ गते सुरु भएको जेन्जी आन्दोलन र भ्रष्टाचार विरुद्धको नारा, साथै २६ वटा सामाजिक सञ्जालमार्फत फुकुवाको प्रतिबद्धताको नारा सकारात्मक देखिएता पनि दोस्रो दिन भदौ २४ गतेका ध्वंसात्मक घटनाबाट राष्ट्रघाती प्रतिगामी षडयन्त्रको अस्तित्व सार्वजनिक भएको छ।

यस घटनाबाट मुलुकको सुरक्षामा तैनाट नेपाली सेनाको भूमिका पूर्णरूपमा निष्क्रिय रहेको र यसकारण नेपाल सुरक्षित हुन नसकेको स्पष्ट भएको छ। यस्तो अवस्थामा मुलुकको रक्षा गर्ने काम जनताको शक्तिमा निर्भर देखिन्छ। जनताको अभिमत दलीय प्रणालीअनुसार मुख्यतया दलहरुमा केन्द्रित हुन्छ, जसमा प्रमुख गरी तीन ठूला दलहरु रहेका छन्। २०७९ सालको आमनिर्वाचनमा परेका करिब १ करोड ४ लाख मतमध्ये करिब ७० लाख मत यी तीन दलहरुलाई मात्र प्राप्त भएको थियो। पछिल्लो समयमा राष्ट्रपतिको पहलमा यी तीन ठूला दलहरुको सहमतिबाट नै मुलुकको रक्षा भएको देखिन्छ।

यसको कारण के हो भने, मुलुकमा चलाइएको विध्वंसबाट विदेशी शक्तिका केन्द्रहरुले नेपालमा संकटकालीन स्थिति सृजना गरी संयुक्त राष्ट्र सङ्घीय सेना नेपाल भित्र्याउने रणनीति बनाएका थिए। तर, राष्ट्रपतिको पहल र ठूला दलहरुको राजनीतिक सहमतिले उक्त रणनीति तत्काल असफल बनायो। २०७६ सालदेखि एसपीपी सन्धि मार्फत नेपालमा पश्चिमा विदेशी सेना ल्याउने दबाब पटकपटक आएको थियो। माओवादी नेतृत्वको चातुर्य र दलहरुको असहमतिले यो सन्धि रोकिन सफल भएको प्रसिद्ध छ। यसरी सन्धि-सहमति र संकटकाल दुवै मार्गमा तीन दल नै प्रमुख अवरोधक देखिएपछि, ती विदेशी साम्राज्यवादी शक्तिका केन्द्रहरुले तीन दल र तिनका नेताहरुमाथि आक्रमण गर्नु अपरिहार्य बन्यो।

राष्ट्रियताको मुद्दामा माओवादीले कलात्मक ढंगले वैचारिक नेतृत्व गरेता पनि, सरकारको नेतृत्वको कारणले तीनै दलमाथि आक्रमण गरियो। यसको आवरण भ्रष्टाचारको विषयलाई बनाइयो। मानिसमा असीमित क्षमता हुँदैन, नेताहरु पनि मानिस नै हुन्। मानिस भएपछि स्वाभाविक सीमाहरु हुन्छन्। ती सीमाहरुबाट सुधार गर्नुपर्छ, नेताहरुको निषेध गर्नु हुँदैन। नेताहरुमा जति सुकै सीमाहरु रहे पनि, अन्तर्यमा कतै न कतै राष्ट्रियताको भावना रहिरहन्छ। यही राष्ट्रियताको विचार र भावनामाथि नै विदेशी शक्तिका केन्द्रहरुको आक्रमणको निशाना बन्यो। अन्यथा आर्थिक भ्रष्टाचारको कुरा गर्ने हो भने, नेपालमा धेरै अरबपति छन्, तिनमाथि निशाना बनेको देखिँदैन। किनभने, साम्राज्यवादको युगमा विश्व साम्राज्यवादको संरक्षणमा रहेको वित्तीय एकाधिकारको दलाल पूँजीपति वर्ग र नेपाली जनताबीचको वर्गीय अन्तरविरोध नै प्रमुख अन्तरविरोधको रूपमा रहेको हुन्छ।

यस वर्ग संघर्षमा कसले कुन वर्गको पक्षधरता लिएको छ, त्यसको आधारमा साम्राज्यवादी शक्तिका केन्द्रहरुले दलाल पूँजीवादका पक्षधरहरुको संरक्षण गर्छन् र स्वाधीनताका पक्षधर देसभक्तहरुमाथि आक्रमण गर्छन्। यो वर्ग संघर्षको शाश्वत नियम हो। यस सन्दर्भमा माओत्से तुङ्गले चिनियाँ सन्दर्भमा गरेको विश्लेषण, “वर्गीय शत्रुले जसमाथि आक्रमण गर्छ, उ सही हुन्छ र जसलाई रक्षा गर्छ, उ बिग्रेको हुन्छ”, वर्गीय चरित्र बुझ्ने राम्रो ऐना हो। आज नेपालमा चलिरहेको वर्ग संघर्षलाई यसै कोणबाट हेर्नुपर्छ। जसमाथि आक्रमण गरिएको छ, उ राष्ट्रियताको मुद्दामा अडान लिएको प्रमाण हो। जो ती देसभक्त नेताहरुको विरुद्धमा उभिन्छन्, तिनले जानेर वा नजानेर साम्राज्यवादको पक्षपोषण गरिरहेको सबूत हो। अतः, वर्ग संघर्षका हरेक सामाजिक घटनाहरुलाई वर्ग संघर्षको मार्क्सवादी वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ। जति सुकै जाली पर्दाको आवरणले छोप्न खोजे पनि, वास्तविकता ऐनाको झैं स्पष्ट देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button