रसुवा नाका पूर्ण क्षमतामा संचालन हुने प्रतीक्षामा नेपाली व्यवसायी, करोडौं मूल्यका मालवस्तु महिनौंदेखि अलपत्र

चीनको स्वशासित तिब्बतको न्यालम प्रशासनले आवश्यकताअनुसार कन्टेनर आउजाउमा कडाइ गरेपछि नेपाली व्यवसायीले किनेका करोडौं रुपैयाँ बराबरका मालवस्तु बाटोमा अलपत्र परेका छन् । रसुवा नाका बन्द भएपछि गत असारदेखि नै चिनियाँ क्षेत्रमा रोकिएका सामान नेपाल भित्रन सकेका छैनन् ।
रसुवा नाका खुलेको छैन भने तातोपानीबाट ढुवानीका साधन न्यून संख्यामा मात्र आउजाउ गर्न दिइएको छ । ढुवानीका कन्टेनर नछाडेका कारण दसैं–तिहारका लागि किनिएका सामानसमेत नेपाल भित्रन पाएका छैनन् । दसैंअघि उत्तरी नाकामध्ये एक मात्र विकल्प तातोपानी थियो । तर लगातार दुई महिनाभन्दा बढी समय अरनिको राजमार्गको कोदारी खण्ड सडक अवरुद्ध भयो । यसले फलफूल बोकाएर भन्सार यार्डसम्म ल्याउनुपर्यो । अन्य मालवस्तु भने उतै गोदाममा राखिएको थियो ।
अहिले सडक सञ्चालन भए पनि तिब्बतको नेलाम प्रशासनले मालवाहक कन्टेनर सीमित संख्यामा छोडेका कारण नेपाली व्यापारी मारमा परेका छन् । चीनको ल्हासा, नेलाम, केरुङलगायत सहरमा आफूहरूका सामान अलपत्र भएको नेपाल हिमाल सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगाबहादुर घिमिरे (सागर) ले जनाउनुभयो। कतिपय मालवस्तु कन्टेनरमा लोड गरेर राखिएको छ भने धेरैजसो गोदाममा छन् । रसुवा नाका बन्द भएपछि केरुङमा गोदाम गरेका कतिपय सामान उतै अलपत्र छन् । तातोपानीतर्फ ल्याइएका सामान पनि भित्रन सकेका छैनन् ।
कान्तिपुर अनलाइनका अनुसार तातोपानी नाकामा निर्भर हुन कठिन भएपछि व्यवसायीले मुस्ताङको कोरला भन्सार नाका पनि प्रयोग गर्न थालेका छन् ।
यद्यपि जाडो मौसममा हिउँ पर्ने, ढुवानी र आउजाउ गर्न पनि निकै टाढा हुने भएकाले व्यवसायीले असहज महसुस गरेका छन् । तातोपानी र रसुवा बन्द भएका कारण दसैंअगावै कोरलाबाट इलेक्ट्रिक भेहिकलसहित व्यापारिक मालवस्तु आयात गरिएको थियो । अहिले पनि कोरला नाका नियमित सञ्चालनमा छ । तर हिउँ पर्ने भएकाले कतिन्जेल सहज होला, यकिन छैन ।
सीमापार वाणिज्य संघले नेपालस्थित चिनियाँ दूतावासलाई पनि कन्टनेरको संख्या बढाएर व्यापार सहजीकरणका लागि पहल गरिदिन लिखित अनुरोध गरेको छ । दिनको ४० देखि ५० कन्टेनर सामान आयात भए मात्र व्यापारीको सामान समयमा काठमाडौं भित्रन सक्ने उहाँको अनुमान छ । अहिले दिनको १५–२० कन्टेनर मात्र सामान छाड्ने गरिएको घिमिरेले जनाउनुभयो । व्यवसायीको मागअनुसार सामान आयात नभएको तातोपानी भन्सार अधिकृत रमेश शाहले बताउनुभयो ।
दिनको ४०–५० कन्टेनर सामान जाँच गर्न सक्ने जनशक्ति तातोपानी भन्सारमा रहेको शाहको भनाइ छ । भन्सारले नेलाम प्रशासनसँग बेलाबेला समन्वय गरेर व्यापार सहजीकरण गरिरहेको उहाँको दाबी छ । विशेषतः फलफूलका कन्टेनरलाई प्राथमिकता दिएर पठाउने गरिए पनि अन्य मालवस्तुका कन्टेनर पर्याप्त नछाडेको उहाँले बताउनुभयो। सडक अवरुद्ध हुने र पर्याप्त कन्टेनर आउजाउ गर्न नदिने भएकाले यसले भन्सार राजस्वमा समेत प्रत्यक्ष असर गरेको छ ।
तातोपानी मितेरीपुलबाट खासा बजार ९ किमि र खासाबाट नेलाम ३५ किमि दूरीमा पर्छन् । नेपालीले खरिद गरेको मालवस्तु नेलामसम्म ल्याएपछि त्यहाँको प्रशासनले खासा हुँदै ४४ किमि नेपालतर्फ तातोपानी पठाउने मालवाहक कन्टेनरको संख्या सीमित गर्दै आएको छ ।
CGTN





