बालेनको फायर पोस्ट : स्वतन्त्रताको सीमाना र जिम्मेवारीको मापन

# पासाङ ल्हामु
सामाजिक सञ्जालमा एउटा पोस्ट कति गहिरो राजनीतिक तरङ्ग निम्त्याउन सक्छ भन्ने कुरा फेरि एकपटक काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले प्रमाणित गरेका छन्। तर, यस पटक उनले चलाएको ‘डिजिटल भूकम्प’ आफैंमाथि फर्किएको छ। शनिबार मध्यराततिर उनले लेखेको स्टाटस— जसमा उनले अमेरिका, भारत, चीन र नेपालका प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै अश्लील र आक्रोशपूर्ण भाषा प्रयोग गरेका थिए जाे केही मिनेटमै हटाइयो। तर, त्यो छोटो अवधिमा पनि हजारौं प्रयोगकर्ताले स्क्रिनसट लिई साझा गरेका थिए, जसले सामाजिक सञ्जाल ततायो र राष्ट्रिय बहसको विषय बनायो।
बालेन साहको राजनीतिक यात्राको मूल स्वरूप नै विद्रोह थियो, पारम्परिक राजनीतिक ढाँचाविरुद्धको। उनले २०७९ को स्थानीय चुनावमा “सिस्टमको विरोध”लाई आफ्नो एजेन्डा बनाएर जित हासिल गरे। तर अहिले त्यही प्रणालीभित्र बसेर प्रणालीविरुद्ध असंयमित अभिव्यक्ति दिने उनको शैलीले प्रश्न उठाएको छ। यो बिद्रोह हो कि गैरजिम्मेवार प्रदर्शन?
विश्वव्यापी रूपमा जब कुनै पदासीन व्यक्तिले सार्वजनिक मञ्च वा सामाजिक सञ्जालमा आक्रोशपूर्ण वा असभ्य शब्द प्रयोग गर्छ, त्यसले केवल उनको व्यक्तिगत असन्तुष्टि होइन, पदको गरिमामाथि पनि प्रश्न उठाउँछ। यो नै कारण हो कि अन्तर्राष्ट्रिय समुदायमा ‘ethical leadership’ र ‘responsible expression’ लाई सँगसँगै मापन गरिन्छ।
बालेनको उक्त स्टाटसमा प्रयोग गरिएको भाषा केवल घरेलु राजनीतिक आलोचना मात्र होइन, तीन प्रमुख शक्ति राष्ट्र अमेरिका, भारत र चीन प्रति प्रत्यक्ष आक्रमणजस्तो देखिन्छ। नेपालको विदेश नीति ‘सन्तुलित असंलग्नता’को सिद्धान्तमा आधारित छ। यस्तो अवस्थामा राजधानीको प्रमुख जनप्रतिनिधिबाट आएको यस्तो वक्तव्यले नेपालको कूटनीतिक सन्तुलनमा नकारात्मक सन्देश दिनसक्छ।
अन्तर्राष्ट्रिय अभ्यासमा स्थानीय सरकारका प्रमुखहरूले पनि आफ्नो राष्ट्रको वैदेशिक छविमा प्रत्यक्ष प्रभाव पार्ने गर्छन्। विशेषतः जब त्यस्ता वक्तव्यहरू डिजिटल माध्यममा विश्वव्यापी रूपमा फैलिन्छन्। बालेनको पोस्टले त्यस अर्थमा नेपालको राजनीतिक परिपक्वताको प्रश्न उठाएको छ।
नेपालमा अहिलेको राजनीतिक संवादको मुख्य मञ्च फेसबुक, टिकटक र युट्युब बनेका छन्। र, बालेन यी सबै प्लेटफर्मका सबैभन्दा शक्तिशाली पात्र हुन्। उनका हरेक पोस्ट चाहे त्यो सहरको विकासबारे होस् वा राजनीतिक कटाक्ष तुरुन्तै समाचार बन्छ। तर, यो शक्ति सँगै जिम्मेवारी पनि बढाउँछ। अभिव्यक्तिको स्वतन्त्रता र सार्वजनिक आचारसंहिताको सन्तुलन राख्न नसक्दा त्यसले नैतिक संकट निम्त्याउँछ। यही सीमारेखा बालेनले यस पटक नाघेका छन्।
विश्वका अन्य देशहरूमा जब कुनै मेयर वा सार्वजनिक पदाधिकारीले आपत्तिजनक अभिव्यक्ति दिएका छन्, तत्काल त्यसको राजनीतिक मूल्य चुकाउनु परेको छ। लन्डनका पूर्व मेयर केन लिभिङ्स्टनले एक पत्रकारसँग अभद्र व्यवहार गर्दा उनको पार्टी सदस्यता निलम्बन भयो। न्यूयोर्कका मेयर एन्थोनी वीनर ट्विटर स्क्यान्डलपछि पद गुमाउनु पर्यो। फिलिपिन्सका राष्ट्रपति डुटर्टेले २०१६ मा अमेरिका र पोपविरुद्ध अपमानजनक टिप्पणी गर्दा अन्तर्राष्ट्रिय आलोचना भोग्नुपर्यो। यी घटनाहरूले देखाउँछन् अभिव्यक्ति स्वतन्त्र हुन सक्छ, तर पदको जिम्मेवारीले सीमा तोक्छ।
बालेनको पोस्टप्रति प्रतिक्रिया दुई धारमा देखियो। एकातिर उनका समर्थकहरू भन्छन्, “उनी सिधा कुरा गर्छन्, ढोंगी होइनन्।” तर अर्कातिर, आलोचकहरू भन्छन्, “सिधा र असंयमता फरक कुरा हुन्।” सामाजिक सञ्जालमा नैतिक प्रश्नहरू उठेका छन्, हाम्रो नानीबाबुहरूले के सिक्छन्? के यस्ता शब्दले विद्रोहलाई सशक्त बनाउँछ कि सस्तो प्रदर्शनमा परिणत गर्छ?
शिक्षा मन्त्री महावीर पुनको सन्देशले पनि यही सन्तुलनमा ध्यानाकर्षण गराएको छ “सर्को तानेको बेलामा केही नबोल्न र नलेख्न।” धरानका मेयर हर्क साम्पाङले त व्यङ्ग्य गर्दै लेखे, “मन परेको मान्छेको पादै मीठो, मन नपरेको मान्छेको मुटु नै झिकेर दिए पनि हेलाहोचा।” यी सबै प्रतिक्रियाले एउटा कुरा प्रष्ट पारेका छन् अब बालेनको हरेक शब्द र मौनता दुवै राजनीतिक अर्थ बोकेर आउँछन्।
बालेनको यो पोस्ट एउटा व्यक्तिको भावनात्मक प्रतिक्रिया मात्रै होइन; यो नयाँ पुस्ताको ‘राजनीतिक असहिष्णुता’को प्रतीक पनि हो। अहिलेका युवा राजनीति प्रती असन्तुष्ट छन्, तर त्यही असन्तुष्टिले यदि भाषिक आक्रमणको रूप लिन्छ भने, त्यो परिवर्तन होइन, प्रतिगमन हुन्छ।
नेपालमा राजनीतिक दलहरूको विश्वसनीयता खस्किँदा बालेनजस्ता स्वतन्त्र पात्रहरूमा ठूलो आशा राखिएको थियो। तर, जब त्यस्ता पात्रहरू नै असंयमित देखिन्छन्, त्यसले वैकल्पिक राजनीतिमा नै अविश्वास जन्माउँछ।
अन्ततः, बालेनको पोस्ट केवल एउटा डिजिटल घटना होइन, नेतृत्वको दर्शन र चरित्रको परिक्षा हो। साँचो विद्रोह शब्दको अश्लीलतामा होइन, व्यवहारको शुद्धतामा हुन्छ। काठमाडौँका मेयरको पदले उनलाई प्रणाली बदल्ने अवसर दिएको छ, तर प्रणाली भत्काउने दायित्व होइन।
नेपालजस्तो संवेदनशील भूराजनीतिक मुलुकमा जब कुनै पदाधिकारीले विदेशी शक्तिलाई अश्लील शब्दले सम्बोधन गर्छ, त्यो केवल व्यक्तिगत साहस होइन, राष्ट्रिय कूटनीतिक जोखिम पनि हो। सामाजिक सञ्जालमा ‘भाइरल’ हुन सजिलो छ, तर इतिहासमा ‘विश्वसनीय’ बन्न कठिन। बालेनले कुन बाटो रोज्नेछन् आक्रोशको वा उत्तरदायित्वको, त्यो उनी मात्रै होइन, पुरै नयाँ पुस्ताको दिशानिर्धारण गर्नेछ।





