‘आलोचना होइन, युद्धक्षेत्रमा योगदान दिनुहोस्’
बुर्किना फासोमा राष्ट्रपतिको आलोचना गरेपछि चिकित्सकलाई युद्धक्षेत्रमै पठाइयो

बुर्किना फासो। सार्वजनिक रूपमा राष्ट्रपति इब्राहिम ट्राओरेको आलोचना गरेको आरोपमा एक चिकित्सकलाई पक्राउ गरी सैनिक प्रशिक्षण दिई युद्धक्षेत्रमा पठाइएको छ। सरकारविरोधी टिप्पणी गरेपछि ‘राष्ट्रिय सेवा’ को नाममा लिइएको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको मानवअधिकार समूहहरूले बताएका छन्।
घटनाको सुरुवात तब भएको थियो जब उक्त चिकित्सकले देशमा बढ्दो आतंकवादलाई नियन्त्रण गर्न सरकार असफल भएको भन्दै राष्ट्रपति ट्राओरेको आलोचना गरेका थिए। यसको प्रतिक्रियामा राष्ट्रपति ट्राओरेले एउटा सार्वजनिक कार्यक्रममा परोक्ष रूपमा उनकोै जवाफ दिंदै भने, “यदि त्यो डाक्टरलाई लाग्छ कि उसले देश कसरी बचाउने भनेर राम्रोसँग जान्दछ भने, उसले आलोचना होइन, प्रत्यक्ष योगदान गरुन्।”
यही भनाइलाई कार्यान्वयन गर्दै सरकारी तन्त्रले चिकित्सकलाई पक्राउ गरी छोटो सैनिक प्रशिक्षणपछि युद्धक्षेत्रमा पठाएको पुष्टि भएको छ। सरकारी पक्षले यसलाई ‘राष्ट्रिय सुरक्षाको हितमा गरिएको आवश्यक कार्य’ भनेता पनि, मानवअधिकार संस्थाहरूले यसलाई ‘आलोचकलाई मौन पार्ने सुनियोजित रणनीति’ भन्दै कडा निन्दा गरेका छन्।
स्रोतहरूका अनुसार, उक्त चिकित्सकलाई सीधा युद्ध लड्न होइन, तर युद्धक्षेत्रमा घाइते सैनिकहरूको उपचार गर्न खटाइएको छ। तथापि, राजनीतिक विश्लेषकहरूले यो प्रवृतिलाई अत्यन्तै खतरनाक र सत्ताविरोधी स्वरलाई डरजस्तो बनाउने प्रयास बताएका छन्।
यो घटना एकल घटना होइन। बुर्किना फासोमा विगतका केही महिनाहरूमा सरकारको विरोध गर्ने पत्रकार, न्यायाधीश र मानवअधिकारकर्मीहरूलाई पनि ‘प्रत्यक्ष जिम्मेवारी’ दिएर युद्धक्षेत्र वा अन्य जोखिमपूर्ण कार्यमा पठाउने चलन बढेको छ।
यस घटनाले देशभरि दुई विपरीत प्रतिक्रिया निम्त्याएको छ। एकातर्फ, मानवअधिकारका लागि लाग्नेहरूले देशमा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको अवस्था डगमगाएको चेतवानी दिएका छन् भने अर्कोतर्फ, सरकारी समर्थकहरूले राष्ट्रिय सुरक्षाको बेलामा सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने देखि उक्त कारबाही सही रहेको दावी गरिरहेका छन्।
तर, सवाल यहीँ रहन्छ: के राष्ट्रप्रमुखको आलोचना गर्नुको मूल्य साँच्चै युद्धक्षेत्रमा जानु हो?





